अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै नेपाललाई सिरिज

काठमाडाैं | कात्तिक ४, २०८१

अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै नेपाललाई सिरिज

काठमाडौं:    अमेरिकामा जारी टि ट्वान्टी आई सिरिजको दोस्रो खेलमा घरेलु टोलीलाई पराजित गर्दै नेपालले ३ खेलको सिरिज एक खेल अघि जितेको छ ।


आइतवार बिहान भएको दोस्रो टि ट्वान्टी आईमा नेपालले अमेरिकालाई सुपर ओभरमा पुगेर हराएको हो । जितसँगै नेपालले सिरिजमा एक खेल अगावै २(० ले जितेको हो । नेपालले २ राष्ट्र सम्मिलित टि२० सिरिज चौथो पटक जितेको हो । यसअघि नेपालले मलेसिया, युएई र केन्यालाई सिरिजमा पराजित गरेको थियो ।


डालसस्थित ग्राण्ड प्रेरीमा १ सय ७१ रनको लक्ष्य अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । अन्तिम ओभरमा जितका लागि ७ रन आवश्यक पर्दा सोमपालले ६ रन मात्र खर्चेका थिए । अन्तिम बलमा २ रन आवश्यक पर्दा अमेरिकाले दोस्रो रन लिने क्रममा रनआउटमा विकेट गुमाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।


सुपर ओभरमा अमेरिका पहिले ब्याटिङमा आएको थियो । अमेरिकाका आन्द्रेस गौस र सायन जाहान्गिर ब्याटिङमा आएका थिए । नेपालको तर्फबाट बलिङको जिम्मेवारी सोमपाल पाएका थिए । सुपर ओभरको पहिलो र दोस्रो बलमा समान १ रन लिएको अमेरिकाकाले त्यसपछि लगातार २ विकेट गुमायो । तेस्रो बलमा जाहान्गिर बोल्ड भए र चौथो बलमा आरोन जोन्स क्याच आउट भए ।


सुपर ओभरमा ३ रनको सामान्य लक्ष्य साथ नेपालका कप्तान रोहितकुमार पौडेल र कुशल भुर्तेल क्रिजमा आएका थिए । अमेरिकाका लागि सौरभ नेत्राभाल्कर बलिङ गरेका थिए ।


पहिलो बलमा रोहितले १ रन लिएका थिए । दोस्रो बलमा कुशलले १ रन जोडेका थिए । तेस्रो रोहितले रन जोडेनन् । चौथो बलमा रोहितले १ रन लिएपछि नेपालले खेल मात्र नभई सिरिज नै जितेको थियो ।


त्यसअघि लक्ष्य पछ्याउने क्रममा अमेरिकाका लागि आन्द्रेस गौसले ४३ बलमा ६२ रनको अर्धशतकीय इनिङ खेले । खेल जिताउन ३ रन मात्र आवश्यक रहेको अवस्थामा लामो सट खेल्दै खेल समाप्त गर्ने चक्करमा उनी सोमपालको बलमा बाउन्ड्रि नजिकै कुशलबाट समातिएका थिए।


दोस्रो विकेटका लागि गौस र साई तेजा मुककामल्लाबीचको शतकीय साझेदारी भएको थियो । यो शतकीय साझेदारी नेपाली बलर दीपेन्द्र सिंह ऐरीले तोडेका थिए ।


दीपेन्द्रले ४१ बलमा ४७ रन बनाएका मुककामल्लालाई आउटसँगै साझेदारी तोडिएको थियो । उनीहरुबीचमा दोस्रो विकेटका लागि १ सय ४ रनको साझेदारी भएको थियो । मुककामल्ला ४१ बलमा ४७ रन बनाउदै बाउन्ड्रिमा कुशलबाट क्याच भएका थिए।


मिलान्ड कुमार ११ बलमा १५ रन बनाउँदै करण केसीको बलमा आउट भए । जाहान्गिर १४ रन बनाउँदै सागर ढकालको बलमा आउट भए ।


नेपालका लागि करणले ३, सोमपालले २ तथा सागर र दीपेन्द्रले समान १ विकेट लिएका थिए।


त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रनको योगफल तयार गरेको थियो । नेपालका लागि कुशलले ५४ बलमा नट आउट रहँदै सर्वाधिक ९२ रन बनाएका थिए। उनले ५४ बलमा ७ चौका र ६ छक्का प्रहार गरेका थिए ।


कुशलले आफ्नो नवौं टि ट्वान्टी अर्धशतक ३३ बलमा पूरा गरेका थिए । कुशलले सन् २०२४ मार्चमा पपुवा न्युगिनीविरुद्धपछि पहिलो पटक टि ट्वान्टी आईमा अर्धशतक प्रहार गरेका हुन् । कुशलले यसअघि नेदरल्यान्ड्सविरुद्ध ३ तथा मलेसिया, सिंगापुर, ओमान र युएईसँग समान १ अर्धशतक प्रहार गरेका थिए ।


ओपनर अनिलकुमार शाह ३१ बलमा २५ रन बनाउँदै नोस्तुश केन्जिकेबाट कट एण्ड बोल्ड भएका थिए । अनिलले २ चौका र १ छक्का प्रहार गरेका थिए । गुलशन झा १२ बलमा १९ रन बनाउँदै नोस्तुश केन्जिकेको बलमा कप्तान मोनांक पटेलबाट समातिएका थिए।


कप्तान रोहित १४ बलमा १८ रन बनाउँदै अमेरिकाका कप्तान पटेलबाट समातिएका थिए । करण १ बलमा ६ रन बनाउँदै नट आउट रहेका थिए ।


अमेरिकाका लागि नोस्तुश केन्जिके र जसदिप सिंहले समान २ तथा सौरभ नेत्राभाल्करले १ विकेट लिए । तेस्रो तथा अन्तिम टि ट्वान्टी आई सोमवार बिहान हुनेछ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्